नाकामा नेपालीले दुःख नपाउन्

कर्णाली प्रदेशका पहाडी भू–भागहरूबाट अहिले पनि कामको खोजीमा भारतका विभिन्न प्रदेशहरूमा जाने प्रचलन कायमै रहेको छ । एउटा बाली लगाएर भारतमा काम गर्न जाने र पुनःबाली भित्र्याउन घर आउने प्रचलन एकातिर छ भने अर्कोतर्फ महान् पर्व विजया दशमीको अवसरमा आफूभन्दा ठूला मान्यजनहरूबाट टीका लगाउने र आशीर्वाद ग्रहण गर्ने हिन्दूहरूको सबैभन्दा ठूलो पर्व विजया दशमी र भाइटीका मनाउन अधिकांश विदेशिएका युवा, युवतीहरू आफ्नो जन्मथलो फर्कने गर्दछन् । यतिमात्र होइन काम विशेषले जन्म घरभन्दा बाहिर रहेकाहरू मध्ये पनि अधिकांश बासिन्दाहरू आफ्नो पुर्खाको घरमा आउने र केही दिन आफन्तहरूसँग रमाउने गर्दछन् ।

नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो र लामो पर्वको रूपमा लिइएको विजया दशमीको सुरुवात भइसकेको छ । महान् पर्व मनाउनका लागि विदेशी भूमिबाट आफ्नो गाउँ फर्कँदै गर्दा नाकामा हुने विभिन्न खाले समस्याहरूको समाधानका लागि नेपाल सरकारले भारत लगायतका अन्य मुलुकहरूका नाकाहरूबाट नेपाल भित्रन लागेका नेपाली नागरिकहरूलाई सास्ती नदिन परिपत्र नै जारी गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेष गरेर कर्णाली प्रदेशका नागरिकहरू नेपाल भित्रने नाकाका रूपमा रहेको रुपैडिया भन्सार र गण्डा चौकीलगायतका नाकाहरूमा कर्णाली प्रदेश सरकारले नै परिपत्रजारी गरेर नेपालीहरूले पाउने दुःखको विश्लेषण गर्दै धेरैभन्दा धेरै सहजता गरिदिन अनुरोध समेत गर्नुपर्ने आवश्यकता देखिएको छ ।

वर्षभरि अर्काको भूमिमा काम गरेर केही मात्रामा घरका परिवारहरूलाई ल्याएको लत्ताकपडाहरूमा चेक जाँच गर्ने अनावश्यक दुःख दिने र कतिपय नेपालीहरू बीच बाटोमै लुटिनुपर्ने अवस्था धेरै हुने गर्दछ । यसका लागि नेपाल सरकारले सीमानामा रहेका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य गरेर नाकामा हुने अनावश्यक झन्झटलाई बन्द गर्दै सहज आवतजावतको व्यवस्था मिलाउनका लागि विशेष चासो दिनुपर्ने देखिएको छ ।

अर्कोतर्फ नेपालमा आएको लगातारको वर्षात् र बाढी पहिरोका कारण विभिन्न जिल्लामा सडक अवरुद्ध भएको छ । काठमाडौँबाट मात्रै लाखौँ व्यक्तिहरू आ–आफ्नो गन्तव्यका लागि हिँडेका छन् । कतिपय स्थानहरूमा अझै वर्षात् नरोकिएका कारण बाटोमा हुने कठिनाईहरुलाई तत्कालै समाधान गरेर यातायात सहज गराउनका लागि सरकारले सम्बन्धित पालिकाहरूलाई आफ्नो क्षेत्रभित्र पर्ने मुख्य राजमार्गका खण्डहरूको व्यवस्थापन गर्नका लागि सडक विभाग, स्थानीय सरकार र सुरक्षा निकायको संयुक्त अभियानको थालनी गर्नुपर्ने देखिएको छ ।

यातायातका साधनहरूमा समस्या आएसँगै अधिकांश नागरिकहरू बाध्यताले हवाई यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ । यस्तो अवस्थामा हवाई भाडामा गरिएको मूल्यवृद्धिलाई तत्काल रोक्दै सहुलियत दरमै हवाई भाडा निर्धारण गरेर सहज रूपमा यात्रुहरूलाई गन्तव्यमा पु¥याउने अभियानको थालनी गर्न संघ सरकारले कडाइका साथ निर्णय कार्यान्वयन गराउनुपर्ने देखिएको छ ।

नेपालभित्रका नाकाहरू हुन् वा देश भित्रने सीमानाकाहरू हुन् सबै नाकाहरूमा यात्रुहरूले पाउने दुःखलाई मध्यनजर गर्दै सबै नेपाली नागरिकहरूको सहज यात्राको वातावरण तयार गर्नुपर्ने दायित्व बोकेका सबै निकायहरूले आ–आफ्नो स्थानबाट जनताका लागि भनेर केही दिन सहजता प्रदान गर्ने अभियानको थालनी गर्न सकेमा दशैका लागि घरमा आएका सबै यात्रुहरूलाई सहज हुनेछ । यसले गर्दा सरकार जनताको पक्षमा रहेको भान पर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार